शुक्रवार, 27 जनवरी 2012

एक्सप्लोर क्यान इन्फोटेक मेलामा छुटाउनै नहुने ग्याजेटहरू

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा बिहीबार सुरु एक्सप्लोर क्यान इन्फोटेक मेलामा उपभोक्ताले सोचेभन्दा पनि अत्याधुनिक ग्याजेट राखिएका छन् ।

 मेलामा ल्यापटप, डेस्कटप, ट्याब्लेट लगातय कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभ, राउटर लगायत सामग्रीका अतिरिक्त सूचना प्रविधिका उपभोक्ताको ध्यान तान्ने केही उत्पादन पहिलो पटक मेलामा राखिएका छन् ।

इन्टरनेट टिभी/रेडियो डिभाइस

 सिल्की रिबन्सले विश्वभर प्रसारण हुने टिभी र रेडियो च्यानल हेर्न/सुन्न मिल्ने इन्टरनेट-टिभी रेडियो डिभाइस ल्याएको छ । डिभाइसलाई कम्प्युटरको युएसबी पोर्टमा जोडेपछि विश्वको जुनसुकै मुलुकबाट इन्टरनेट मार्फत प्रसारण हुने टेलिभिजन/रेडियो हेर्न/सुन्न सकिने छ । 'यो डिभाइस जोड्नासाथ विश्वको
नक्सा देखाउँछ,' इन्टरप्राइजेजकी सञ्चालिका सिल्पी जैनले भनिन्, 'त्यो मुलुकमा क्लिक गरेपछि त्यहाँबाट प्रसारण हुने टिभी/ रेडियोको लिस्ट देखाउँछ । हामी चाहिए अनुसारको च्यानल हेर्न/सुन्न सक्छौं ।' चीनमा निर्मित यो डिभाइसबाट विश्वका २८ हजार रेडियो, ६ हजार २ सय टिभी च्यानल यसले प्रसारण गर्ने छ । यसको मूल्य ९ सय रुपैयाँ छ ।

 कम्पनीले अमेरिकामा निर्मित टेक्नोज ब्रान्डका पेनड्राइभमा 'लाइफटाइम वारेन्टी' दिएको छ । कम्पनीले ४ जीबीको पेनड्राइभ ५ सय ५० र ८ जिबीको १ हजार रुपैयाँमा उपलब्ध गराएको छ । 'यो पेनड्राइभ कहिल्यै बिग्रँदैन,' सञ्चालक पंकज जैनले भने ।

६ हजारको ट्याब्लेट

 एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त भारतमा निर्मित सस्तो ट्याब्लेट मेलामा राखिएको छ । गिजमोस नेपालले आकाश नामको ट्याब्लेट ६ हजार रुपैयाँमा उपलब्ध गराउने गरी बुकिङ गरिरहेको छ । एबिसलेट सेभेन मोडलको यो ट्याब्लेट १ सय रुपैयाँ तिरेर बुकिङ गर्दा बढीमा २ महिनाभित्र उपलब्ध गराउने कम्पनीले जनाएको छ । सिमकार्ड राखेर डाटा चलाउन मिल्ने यो ट्याब्लेटमा वाइफाई सुविधा समेत छ ।

वाइफाईयुक्त क्यामेरा

 सामसुङको वाइफाई, ब्लुटुथयुक्त क्यामेरा समेत मेलामा उपलब्ध छ । मेगा टेकले राखेको एसटी ५५०० मोडलको उक्त क्यामेराबाट वाइफाई, ब्लुटुथ मार्फत सीधै इन्टरनेटमा फोटो अपलोड गर्न सकिने कम्पनीका सेल्स मेनेजर अर्जुन निरौलाले बताए । १४ मेगापिक्सेल, सेभेन एक्स जुम, एचडिएमआईयुक्त उक्त क्यामेराको मूल्य मेलामा २५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

टाढाको कार्यालयलाई जोड्ने प्रविधि

 टाढा रहेका दुईभन्दा बढी कार्यालयलाई ताररहित प्रविधिबाट जोड्ने उपकरण नेसनल कम्प्युटर वल्र्डले मेलामा राखेको छ । कम्पनीका प्रबन्ध निर्देशक न्हुच्छे महर्जनका अनुसार १० र २० किलोमिटर टाढासम्म रहेका दुई कार्यालयका कम्प्युटर, पि्रन्टर, क्यामेरा, सर्भर लगायत उपकरणलाई वायरलेस एक्सेस प्वाइन्ट मार्फत जोड्न सकिन्छ । एयर राउटर, बुलेट एम, नानो बि्रज एम, रोकेट एम जिपिएस, पिको स्टेसन एम २ हाई पावर, नानो स्टेसन एम २ लगायत उपकरण कम्पनीले प्रदर्शनीमा राखेको छ ।

किबोर्डमै सिपियु

 मास्टर टेक्नोलोजीले मेलामा किबोर्डमै सिपियु जोडिएको किबोर्ड पिसी राखेको छ । कम्प्युटर चलाउन किबोर्डमा मोनिटर र माउस मात्र जोडे हुने कम्पनीका निर्देशक सरोज फुयाँलले जानकारी दिए । १ जिबीको र्‍याम, १ सय ६० जिबीको हार्डडिस्क, ९ सय ३३ मेगाहर्जको प्रोसेसर, टिभी कार्डसहित उपलब्ध यो किबोर्डको तौल ० दशमलव ९ किलोग्राम मात्र छ । विन्डोज एक्सपी/लिनक्स अपरेटिङ सिस्टम सपोर्ट गर्ने ताइवानमा बनेको यो कम्प्युटर मेलामा १७ हजार ५ सय रुपैयाँमा उपलब्ध हुने छ ।

वाइफाई सिग्नल बढाउने सिपिई

 वाइफाई इन्टरनेट चलाउनेहरूका लागि सिग्नल नभएर गाह्रो परेको छ भने चेरी वल्र्डले आउटडोर सिपिई (क्लाइन्ट प्रमिसेज इन्ड) उपयोगी हुन सक्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश रजकका अनुसार यो उपकरणले खुला ठाउँमा ५ किलोमिटर र घरहरूले छेकिने ठाउँमा २ किलोमिटर परसम्मको सिग्नललाई तान्न सक्छ । कम्पनीले यसको मूल्य ४ हजार ५ सय रुपैयाँ राखेको छ ।

डिजिटल भिजिटिङ कार्ड डिभाइस

 नेटकम इन्टरनेसनलले डिजिटिल भिजिटिङ कार्ड बोक्ने डिभाइस पोकेन मेलामा सार्वजनिक गरेको छ । कम्प्युटरमा बनाइएको भिजिटिङ कार्डलाई पोकेनमा अपलोड गरेर बोकेपछि त्यस्तै डिभाइस बोक्ने अर्को व्यक्तिसँग एनएफसी -नियर फिल्ड कम्युनिकेसन) मार्फत साटासाट गर्न सकिन्छ । त्यसलाई कम्प्युटरमा जोडेर इडिट, सेभ गर्न, खन्याएर राख्न सकिने कम्पनीका प्रबन्ध निर्देशक सम्राट रायमाझीले जानकारी दिए ।

 यसबाहेक मेलामा इन्टरनेट सेवा प्रदायकहरू, विद्युतीय सामग्री, सूचना प्रविधि सम्बन्धी इन्स्टिच्युटहरू, वापर सोलुसन्स, प्रिन्टिङ लगायत सामग्री राखिएको क्यानका महासचिव नारायण न्यौपानले जानकारी दिए ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें