रविवार, 5 फ़रवरी 2012

'गुगल ट्रान्सलेटर' अब नेपालीमा पनि

कम्प्युटरमा काम गर्दागर्दै अंग्रेजी शब्दको अर्थ नेपालीमा नजानेर हैरान हुनुपरेको छ? या कुनै नेपाली शब्दलाई अंग्रेजीमा अनुवाद गर्न कठिन भएको छ? अंग्रेजी जान्दै नजान्ने वा सामान्यमात्र जान्नेलाई समेत सहयोगी 'गुगल ट्रान्सलेटर' अब नेपालीमा पनि तयार हुँदैछ।  संसारका धेरै देशमा सबैभन्दा बढी बोलिने भाषालाई कम्प्युटरमै अनुवाद गर्ने प्रविधि बनाइसकेको गुगल ट्रान्सलेटरले अहिले नेपाली भाषामा अनुवाद सुरु गरेको छ। केही दिनअघि नेपाल आएका गुगलका प्रतिनिधि डिभोन ल्यानले अनुवादमा सहयोग गर्न आग्रह गरेका थिए।


उदीयमान देश हेर्दै आएका बिजनेस मेनेजर डिभोनले नेपालमा गुगलको अनुवादक सेवा सुरु गर्न इन्टरनेट सोसाइटी, नेपाल टेलिकम, नेपाली विकिपिडिया, खुला तथा स्वतन्त्र सफ्टवेयर समाज, मदन पुरस्कार पुस्तकालय लगायतसँग छलफल गरेका थिए। उनले भाषा र प्रविधिसँग सम्बन्धित संस्थाका पदाधिकारीहरुसँग पनि भेटेर अनुवादनका लागि छलफल गरेका थिए। 'गुगलको अनुवादमा कुनै प्रकारको भाँजो कहिँबाट हालिएन भने
एक वर्षभित्रमा त्यसको प्रारम्भिक भर्सन आउन सक्छ,' नेपाली विकिपिडियाका प्रशासक गणेश पौडेलले भने। अहिले गुगलले अंग्रेजीबाट ६ दर्जनको हाराहारीका भाषामा अनुवाद गर्ने प्रविधि सुरु गरिसकेको छ।

'अंग्रेजीबाट अरु भाषामा मात्र नभई गुगल अनुवादक भएका सबै भाषाबाट सबैमा यो सुविधा प्रयोग गर्न सकिन्छ,' पौडेलले भने। जस्तै कसैले चिनियाँ भाषामा लेखेकोलाई स्पेनिस, कोरियन भाषामा लेखेकोलाई हिन्दी जस्ता भाषामा समेत अनुवाद गर्न सकिन्छ। गुगल ट्रान्सलेटरले नेपालीमा लेखिएको लेखलाई जुनसुकै भाषामा अनुवाद गर्न सक्नेछ। गुगलले अनुवाद गर्दा लेखिएको वाक्यलाई ठ्याक्कै भन्न खोजिएको कुरा नआउन सक्छ। त्यसो हुँदा काम गर्दै, परीक्षण गर्दै जाँदा लामो समय लाग्न सक्ने यसमा संलग्न प्राविधिकहरुले बताएका छन्। इन्टरनेट साइटहरुमा अहिले करोडौं सूचना छन्। तर सबैले अंग्रेजी भाषा नजान्ने भएकाले त्यहाँ भएका जानकारीहरु पढ्न सक्दैनन्। नेपालीमा अनुवाद गर्ने सुविधा भए कम्प्युटरमा भएका सबै जानकारीहरु अध्ययन गर्न सक्छन्।

नेपाली अनुवादक शब्दकोश बनाउने प्रयास केही वर्षअघि मदन पुरस्कार पुस्तकालयले सुरु गरेको थियो। त्यसका लागि आवश्यक पर्ने भाषाका शब्दभण्डार (कर्पस) बनाउने काम आधा सम्पन्न भइसकेको थियो। तर थप स्रोत साधन जुटाउन नसकेर त्यो काम बीचमै राकिएको छ। त्यसपछि अहिले गुगल जस्तो सबैभन्दा बढी हेरिने साइटले यो अभियान थाल्न लागेको हो।

नेपाली विकिपिडियाका अर्का एक प्रशासक राजेश पाण्डेले हिन्दीबाट नेपालीमा अनुवाद गर्ने प्रविधि निर्माण गरेका छन्। उनको दाबीअनुसार यसबाट हिन्दीमा भएका सामग्रीलाई नेपालीमा ८० प्रतिशतसम्म सही अनुवाद गर्न सकिन्छ।

नेपाली भाषाको अनुवाद उपकरण बनाउन केही समयदेखि नै चासो दिएको थियो। त्यसैका लागि यहाँको अवस्था बुझ्न डिभोन नेपाल आएका हुन्। डिभोनले नेपाली विकिपिडया, मदन पुरस्कार पुस्तकालय, साझा ई-पाटी नेपाललाई यसमा सहकार्यका लागि आह्वान गरेका छन्।

गुगलले नेपालमा झन्डै ६ महिना अघिदेखि सहकार्य सुरु गरेको हो। नेपाली इन्टरनेट प्रयोगकर्ताका सजिलोको निम्ती गुगलले काठमाडौंमा क्यास सर्भर राखेको छ। नेपाल टेलिकमसँग मिलेर राखिएको क्यास सर्भरले गर्दा गुगलका जिमेल, युटुब, गुगल न्युजलगायत सेवाहरु निकै छिटो प्राप्त गर्न सजिलो भएको छ। यसबाट अमेरिकासम्मको महँगो ब्यान्डविथ समेत वचत भएको छ।

नयाँ वर्षबाट गुगलमा नेपाली पात्रो
आउँदो नेपाली नयाँ वर्षदेखि गुगलले सुरु गर्न लागेको अर्को सेवा हो- गुगल पात्रो। नेपाली विकिपिडयासँगको सहकार्यमा गुगलले नेपाली पात्रो बनाउन सुरु गरिसकेको छ। यसको व्यवस्थापन नेपाली विकिपिडियाका प्रबन्धक सरोज ढकालले गर्दैछन्।

'नेपाली पात्रो (क्यालेन्डर) बनाउन अरुभन्दा जटिल भएको र पञ्चांग निर्णायक समितिबाट स्वीकृति लिनुपर्ने हुँदा त्यसको तयारी भइरहेको छ,' काठमाडौं गुगल टेक्नोलोजी युजर ग्रुपका कम्युनिटी मेनेजर भुपाल सापकोटाले भने। वैशाख १ गते अघिनै तयार गरेर राखिने गुगल क्यालेण्डरमा नेपाली चाडपर्ब, राष्ट्रिय दिवस, सरकारी बिदाहरु हुने छन्। अहिलेसम्म अंग्रेजीमात्र गुगल क्यालेन्डर बनाइएको छ। नेपाली क्यालेन्डर बनाउन कामको समन्वय विकिपिडियाका प्रबन्धक सरोज ढकालले गरिरहेका छन्।


किन इच्छुक भयो गुगल?
नेपाली अनुवाद गर्न र क्यालेन्डर निर्माणमा गुगलले चासो दिनुको कारण हो - एक वर्षदेखि स्थिर यसका नेपाली प्रयोगकर्ता। झन्डै एक वर्षको नेपाली प्रयोगकर्तालाई गुगलले अध्ययन गर्दा वृद्धिदर सुस्त भएको देखियो। अरु देशमा गुगलका प्रयोगकर्ता बढिरहेको अवस्थामा नेपालमा नबढ्नुमा भाषाको समस्या रहेको निष्कर्ष गुगलले निकालेको छ।

'अंग्रेजी भाषा जान्नेले पहिलेनै गुगलका सेवाहरु लिइसकेका छन्,' सापकोटाले भने। गुगलका प्रयोगकर्ता नबढ्नुमा नेपालीमा विषयवस्तुहरु उपलब्ध नहुनु र भएकालाई पनि अनुवाद गर्ने सुविधा नभएको अनुमान डिभोनले निकालेका थिए। गुगलको सेवाहरु, जिमेल, युटुब, गुगलन्युज, सर्च इन्जिन, नक्सा, गुगलप्लस, फोटोका प्रयोगकर्ता विगत एक वर्षदेखि स्थिर छन्। गुगलले मोबाइलको अपरेटिङ सिस्टम एन्ड्रोइडमा नेपाली भाषा चलाउने विषयमा समेत चासो देखाएको विकिपिडिया प्रशासक पौडेलले जानकारी दिए।

Nagariknews.com

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें