शुक्रवार, 23 मार्च 2012

मनमोहक धम्पुस

अधिकांश पर्यटक माछापुच्छ्रे हेर्न पोखरा जान्छन्। तर, माछापुच्छ्रेको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छ्रे भएको हो भनेर तपाईंले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।




प्रवेशः     पोखरा
यातायातः     ट्याक्सी, बस, पैदल
बासः     होटल, क्याम्प
अवधिः     १―२ दिन
आकर्षणः     माछापुच्छ्रे र गुरुङ संस्कृति
उचित मौसम    असोज-वैशाख
खर्चः     रु.५००-रु.१००० (प्रति दिन)
उचाइः     १७५० मीटर


धम्पुस पुग्न सजिलो छ, पोखराबाट जम्मा २५ किलोमिटर पश्चिम। पोखराको बाग्लुङ बसपार्कबाट बाग्लुङ जाने बस छुट्छन्। यहाँबाट सार्वजनिक बस समातेर वा ट्याक्सी लिएर आधा घण्टामै फेदी पुग्न सकिन्छ। यहाँबाट शुरु हुन्छ, जङ्गलले घेरा हालेको उकालो बाटोमा पदयात्रा। छिटो हिँड्नेलाई एक घण्टा, ढिलो हिँड्नेलाई दुई घण्टा, त्यसपछि आइहाल्छ- गन्तव्य धम्पुस!



धम्पुसबाट देखिने हिमालमात्र होइन, पोखराबाट फेदीसम्म गाडीमा यात्रा गर्दा देखिने फाँट, खोलाहरू पनि कम मनमोहक छैनन्। फेदीमा भएका होटलहरूमा सजाएर राखिएका सुकुटी देख्दा नखाई बस्नै सकिँदैन। डाँडा पुग्नासाथ शुरु हुने धम्पुसका होटल, सफावस्ती र स्वागत गर्न बसिरहेका धम्पुसबासीको व्यवहारले पर्यटकलाई यसरी लोभ्याउँछ कि एक रातका लागि जानेलाई पनि बसाइँ लम्ब्याउन मन लाग्छ। रात बस्न धम्पुसमा सफा, सुग्घर र सस्ता होटलहरू पाइन्छन्।

१७५० मिटर अग्लो धम्पुसमा कोदो, धान, आलु, सागको राम्रो उब्जनी हुन्छ। रासायनिक मल बिनाको तरकारी, झवाइँखट्टे (घ्यूमा चामल झानेको कोदोको रक्सी) सुकुटी, लोकल कुखुरा खाँदै हिमालको सौन्दर्य नजिकबाट नियालेर बस्नु कम आनन्ददायी हुँदैन। यहाँको मौसम पनि गज्जबको छ, न धेरै जाडो न गर्मी।

अन्नपूर्ण संरक्षण क्षेत्रको बारेमा थप थाहा पाउन यहाँ क्लिक गर्नुहोस



स्रोतः हिमाल खबर 


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें