गुरुवार, 19 दिसंबर 2013

सफल उद्यमीहरूमा पाइने आठ साझा गुण

‘कुनै पनि व्यवसायमा सफल हुने मानिसमा आफ्नै तरीका र रणनीति हुन्छन्’ भनिन्छ । तर, अध्ययनको क्रममा सफल उद्यमीहरूमा केही साझा गुण हुने पत्ता लागको छ । किनकि, हरेक सफल उद्यमीसँग केही जन्मजात र केही गुण सिक्ने र अभ्यास गर्ने रहेको पाइन्छ । अधिकांश उद्यमीले सिकाइ र अभ्यासबाटै सफल हुने बानीको विकास गरेको भेटिएको छ। साथै, उद्देश्यको निर्धारण र कार्यान्वयन, रणनीतिक योजना निर्माणमा सहयोग पुर्‍याएको अध्ययनहरूले देखाएका छन ।
 तिमी पनि सफल उद्यमी बन्न चाहन्छौ भने ‘म सँग कुनै गुण नै छैनन्’ भनेर दुःखी नहोऊ, बरू सफल उद्यमीबाट सिक । अभ्यास गर र सफल भएर देखाऊ । किनकि, देश विकास उद्यमशीलताबाटै सम्भव छ । हामी सबैलाई थाहा छ । जुनसुकै काम गर्दा पनि त्यो काम गर्न केही कुरा अनिवार्य रूपमा चाहिन्छ । उदाहरणका लागि सडकमा सवारीसाधन चलाउन तपाईं सँग अनुमतिपत्र हुनैपर्छ । खेलमा उत्कृष्ट नतीजा ल्याउन कडा अभ्यास र तालीम गरेकै हुनुपर्छ । त्यस्तै, व्यवसायमा सफलता हासिल गर्न पनि योभन्दा नयाँ नियम छैन । व्यवसायमा सफलता हासिल गर्न पनि अनिवार्य रूपमा केही गुण विकास गर्ने, कार्यान्वयन गर्ने र व्यवस्थापन गर्ने क्षमता चाहिन्छ । व्यवसायमा सफल हुन अनिवार्य आठ गुण यस्ता छन्:

त्यही गर, जसमा तिमी रमाउँछौ

त्यस्तो व्यवसाय गर, जुन व्यवसाय गर्दा तिमी खुशी हुन्छौ, आत्मसन्तुष्टि र आर्थिक उपार्जन गर्न सक्छौ । जीवनलाई स्थायित्व दिन सक्छौ र रमाइलोसँग जीवन व्यतित गर्न सक्छौ । व्यवसाय गर्नुको उद्देश्य यिनै विषय प्राप्त गर्ने हुनुपर्छ । त्यसैले, तिमीले गरिरहेको काममा रस बसेको छैन वा सहज अनुभव गरेका छैनौ भने सफलता प्राप्त गर्ने सम्भावना पनि कम हुन्छ । कुनै काम कति तन्मयका साथ गरिरहका छौ वा जबर्जस्ती गरिरहेका छौ भन्ने कुरा कामको नतीजाले पनि देखाउँछ । जबर्जस्ती गर्दा सफलता हात लाग्न गाह्रो छ । तर, सफल व्यवसायीले जुन व्यवसाय गरिरहेका हुन्छन्, त्यो उनीहरूको जीवन, उद्देश्य र खुशीसँग जोडिएको हुन्छ ।

कामलाई गम्भीरताका साथ लेऊ

आफ्नो व्यवसायलाई प्रभावकारी बनाउन र सफलता हासिल गर्नमा विश्वस्त हुनुपर्छ । आफूले उपलब्ध गराउने सेवा वा वस्तुमा पूर्ण विश्वास नगर्दा व्यवसाय वृद्धि हुन सक्दैन । व्यवसायलाई गम्भीरतासाथ नलिँदा संसारभर धेरै लघुउद्यमी असफल भएका छन् । व्यवसायमा केन्द्रित नहुनु र सफल हुने कुरामा अभिप्रेरित नभइदिँदा पनि यस्तो समस्या आउँछ । कतिपयले काम एउटा गर्ने तर ध्यान अर्कैतिर लगाउँदा पनि असफल भएका उदाहरण छन् । फेरि समाजमा सबै उत्साहित गर्ने मान्छे मात्र पनि हुँदैनन् । कतिपय मानिस नकारात्मक र निराशावादी कुरा मात्र गर्छन् । यिनले पनि व्यवसाय गर्नेलाई हतोत्साही बनाउन सहयोग पुर्‍याउँछन् । यस्ता नकारात्मक मानिसबाट बच्न सफल मानिससँग सङ्गत बढाऊ, जसले आफ्नो व्यवसायबाट सफलता हासिल गरिरहेको छ ।

प्रत्येक कामको योजना बनाऊ

आफूले गर्ने व्यवसायको हरेक पक्षलाई समेटी योजना बनाउनु अत्यावश्यक त छ नै । यसले उद्यमी भएर गर्नुपर्ने काम, कम्पनीको वृद्धि, योजना कार्यान्वयनको अवस्थालगायत विषयलाई पनि सहज बनाउँछ । साथै, योजना निर्माण दैनिक व्यवहारका रूपमा विकास हुन्छ । ‘बिजनेश’ योजनाले कम्पनी व्यावसायिक अवस्थाको विश्लेषण गर्न, अनुसन्धान र तथ्याङ्कलाई व्यवस्थित गर्न र तथ्यमा आधारित निष्कर्ष निकाल्नमा सहयोग पुर्‍याउँछ । योजना आफै पनि महत्वपूर्ण उपलब्धि हो । यसले ‘तिम्रो लक्ष्य के हो र के कुरा प्राप्त गर्न चाहन्छौ’ भन्ने स्पष्ट रूपमा देखाउँछ । यसले एकातिर भविष्यको बाटो देखाउँछ भने अर्कोतिर अहिलेसम्मको सफलता मापनमा सघाउँछ ।

रकमको व्यवस्थापन बुद्धिमानीपूर्वक गर

कुनै पनि व्यवसाय वा व्यापारको जीवन भनेकै ‘क्यास फ्लो’ हो । व्यवसायमा नवप्रवर्तन, रकमअनुसारको सेवा, प्रवद्र्धन र बजार उत्तिकै महत्वपूर्ण हुन्छ । सेवा वा वस्तुको मर्मत तथा स्थानान्तरण पनि आवश्यक हुन्छ । व्यवसायलाई अप्ठ्यारो नपर्ने गरी रकमलाई फ्लो गर्नुपर्छ, जसले गर्दा आफ्नो व्यवसाय पनि निरन्तर रूपमा चलोस् । बुद्धिमतापूर्वक रकम व्यवस्थापनका दुई तरीका छन् । आफ्नो सेवा वा वस्तु विक्री गरी उपभोक्ताबाट रकम प्राप्त गर्न सकिन्छ । यसबाट आम्दानी हुन्छ । त्यस्तै, व्यवसाय सञ्चालन गर्न नवप्रवर्तन, तलब, दैनिक कार्यसम्पादन लगायतमा रकम चाहिन्छ । यसबाट खर्च हुन्छ ।

उपभोक्ता केन्द्रित होऊ

जे काम गरे पनि उपभोक्तालाई केन्द्रमा राख्नुपर्छ । अझ घरेलु वा लघु व्यवसायमा त यो नभई नहुने विषय हो । किनकि, यस्तो व्यवसायमा अन्यसँग प्रतिस्पर्धा गर्नु वा जित्नु महत्वपूर्ण हुँदैन । बरु उपभोक्ताले मन पराउने सेवा वा वस्तुको तयारी भने महत्वपूर्ण हुन्छ । किनकि, तिमीले उत्पादन गरेको सामान उपभोक्ताले मन पराएमा व्यवसाय वृद्धि हुन्छ । मन पराएनन् भने घट्छ । त्यसैले, उपभोक्ता नै तिम्रो व्यवसायका निर्धारक हुन् । यसकारण पनि कम्पनीको नीति, वारेण्टी, ग्यारेण्टी, पेमेण्ट सेवा, सेवा प्रवाह अवधि, विज्ञापन, प्रवर्धन क्याम्पेन र वेबसाइटसमेत उपभोक्तामा केन्द्रित हुनुपर्छ । यसबाहेक उपभोक्तालाई सबै किसिमबाट बुझ्न जरुरी हुन्छ ।

‘आफ्नै’ प्रवर्धन बन

कुनै पनि व्यवसाय सफलता पाउन उत्पादन वा सेवालाई विक्री गर्ने क्षमतासँग जोडिन्छ । जब आममानिसले उत्पादन वा सेवालाई मन पराउँछन्, त्यो व्यवसाय सफल हुन्छ । तर, उक्त सेवा वा उत्पादन गर्ने संस्था वा व्यक्तिबारे थाहा हुँदैन भने सफलता हात पार्न गाह्रो हुन्छ । त्यसकारण ‘तिमी’ सफल व्यवसायी बन्न चाहन्छौ भने आफैलाई प्रवर्धन गर । यसले फाइदै पुर्‍याउँछ । साथै बजार वृद्धि गर्नसमेत सघाउँछ ।

सकारात्मक प्रभाव पार

व्यवसायलाई सफल बनाउन सकारात्मक र सम्झनायोग्य व्यवहार गर । यस्तो व्यवहारले तिम्रो सेवा वा वस्तुका उपभोक्तालाई निरन्तरता दिन सहयोग गर्छ । साथै, उपभोक्ता वृद्धि गर्न पनि सघाउँछ ।

उत्कृष्ट ‘टीम’ बनाऊ

कुनै पनि व्यवसायमा एकजनाबाट मात्र सफलता हासिल हुँदैन । व्यावसायिक कामलाई ‘टीम’ नै आवश्यक हुन्छ । कामप्रति समर्पित टीमले सफलता दिलाउन ठूलो सहयोग पुर्‍याउँछ । कुनै पनि व्यवसायमा काम गर्ने सदस्यहरूमा आफ्नो पारिवारका सदस्य, साथी, कर्मचारी र अन्य मानिस पनि
हुन सक्छन् ।
 
Shiwakoti Bags बाट साभार
https://www.facebook.com/groups/e4nepal/permalink/10153630780540430/
 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें