Monday, February 20, 2017

सुदुरपश्चिमको सम्बृद्धीका लागि वातावरणमैत्रि उर्जा

हरीशप्रसाद भट्ट

सुदुरपश्चिम पुर्वमा कर्णाली नदी र पश्चिममा महाकाली ले घेरिएको सुन्दर र देशको महत्वपुर्ण भूभाग हो । देश राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको सताब्दि पुग्न आँट्यो, यहि बेला संसारले विकास, विज्ञान र प्रविधिको  मामलामा हामीलाई अरु केहि दशक पछि छोडिदिएको छ । भुगोलमा सानो भएर पनि देशको आर्थिक सम्बृद्धीमा आधाबढी योगदान गर्न सक्ने हैसियत भएको सुदुरपश्चिम कहिल्यै राज्यका सञ्चालकहरुको नजरमा परेन । यहाँको विकास र श्रोतसाधनहरुको उपयोगकालागि कुनै वैज्ञानिक अध्ययन भएनन । प्राज्ञिक र राजनीतिक चेतना जनस्तरमा अझै पुग्न सकेको छैन । दुनियाँ ईन्टरनेटबाट अन्तरिक्षको अध्ययन गरिरहेका बेला हाम्रो शुदुरपश्चिमले भोकमरी, विभेद, अन्धविश्वास, गरिबी र घृणित राजनीतिक खिचातानीसंग जुधिरहेको छ । यहाँको भूगोल र प्रकृति आफैमा वरदान हो । पर्यटन तथा अन्य उद्द्योगहरुको बरोबरी सम्भावना छ । गणतात्रिक नेपालले संघिय संरचनामा छुट्टै प्रदेश समेत घोषणा गरिसकेको अवस्थामा यहाँको भूगोल, प्रकृति र समाजको वैज्ञानिक अध्ययन जरुरी छ । साँच्चै नै संघिय एकाईहरुलाई आत्मनिर्भर, विकसित र शान्त सम्बृद्ध बनाउँदै राष्ट्रिय लक्ष्य हाँसिल गर्न शुदुरपश्चिमको वातावरण, भूगोल, उर्जा र पर्यटन उद्योगको प्राज्ञिक अध्ययन र वहस सुरु गर्नु पर्छ । शुदुरपश्चिम कृषि र पर्यटनकालागि उत्तिकै महत्वपूर्ण र उपयुक्त ठाँउ हो । शुदुरपश्चिममा उत्तर पश्चिमी क्षेत्रबाट आउने मनसुनि वायुले गर्दा अधिकांस समय मौसमी वर्षा भईरहन्छ । यसकारण पनि अरु क्षेत्रभन्दा कम सुख्खा रहने गर्छ । गर्मी मौसममा भने भारतीय मरुभूमीबाट पश्चिम तरार्इ्तिर बहने तातो हावा -लू_ चल्नाले भने समस्या निम्त्याएको हुन्छ । न त शासनसत्ता सञ्चालक ले यहाँका समस्या सुनेका छन न त यहाँका विशेषता बारे नै उनिहरु जानकार छन । जिल्ला विकास समितीहरुको क्षेत्रिय सञ्जाल (सन २००३) ले तयार पारेको प्रतिवेदनलाई आधार मान्ने हो भने सुदुरपश्चिममा १,६९६,४६१ किलो जडिबुटी उत्पादन हुन्छ जसमा १६ लाख किलो प्रतिवर्ष त बहुमुल्य यार्सागुम्बा मात्रै उत्पादन हुँदो रहेछ । जडीबुटी मात्रै नभएर थुप्रै अरु क्षेत्रमा सम्भावना बोकेपनि हामीले आर्थिक सम्बृद्धीको सुरुवात सम्त भएको देख्न सकेका छैनौँ ।

वातावरणमैत्रि उर्जा
अहिलेको युगमा सम्बृद्धीको पहिलो सुचक भनेको उर्जालाई लिने गरिन्छ । खासगरि पेट्रोलियम पधार्थ सकिँदै गएको छ । आणविक लगायतका उर्जा अविकसित देशको पहुँचमा छैनन र उपयुक्त पनि छैनन । यस्ता ईन्धनको रुपमा प्रयोग हुने उर्जाश्रोतहरुले वातावरण लाई पनि हानि पुर्याँउछन । कमजोर व्यवस्थापन र कम श्रोतसाधनहरु भएर पनि वातावरणमैत्रि तरिकाले उर्जा उत्पादनको काम गर्नसकिन्छ । विकासका गतिवीधिहरु गर्न समेत उर्जा लाई पुर्वाधारको रुपमा लिने गरिन्छ । उर्जाका श्रोतहरु मध्ये अधिकांस नविकरणीय उर्जाका श्रोतहरुनै वातावरणमैत्रि उर्जाका श्रोत हुन् ।  ति सबै उर्जाका श्रोतहरु 
नविकरणिय हुन जो प्रदुषणकारक छैनन र जसको मुल सकिएर जाँदैन । सौर्यउर्जा, वायुउर्जा, जलविद्द्युत, तापीय(पृथ्वी मुनिको तापबाट), वायोमास तथा जैविक ईन्धन आदि नवीकरणीय उर्जा का केहि उदाहरण हुन । नविकरणिय श्रोतहरुको पुनःप्रयोग सम्भव हुन्छ यि सबै वातावरणमैत्रि हुन्छन । शुदुरपश्चिम आफ्नो सम्बृद्धी नविकरणीय उर्जाबाट मात्रै प्राप्त गर्न सक्छ ।

थुप्रै उपायहरु मध्ये जलविद्द्युतको त शुदुरपश्चिममा अपार सम्भावना रहेको र यसको उपयोगकालागि केहि सकारात्मक प्रयास भएका छन । वृहत वहुद्धेसिय पञ्चेश्वर आयोजनाले ढीलो गरि भएपनि थुप्रै चुनौतिमाझ बामे सर्न थाल्नु सकारात्मक कुरा हो । चमेलिया आयोजना, पश्चिम सेति जलविद्दुत आयोजना जस्ता ठूला परियोनाहरु शुदुरपश्चिममा निर्माणाधिन हुनु सुखद पक्ष हो । डोटीमा ५८० किलोवाटको गोल्मागाड परियोजना, डोटीमै २९७० किलोवाटको गड्डीगाड परियोजना, बैतडीमा ८५०० किलोवाट क्षमताको नउगाड लगायतका आशातित धेरै परियोजना स्वतन्त्र उर्जा उत्पादकहरुको तर्फ अघि बढीरहेका छन  (श्रोतः नेपाल विद्युत प्राधिकरण) । गाँउघरमा सामुदियक स्तरबाट र सरकारी स्तरबाट समेत थुप्रै लघु जलविद्युत आयोजनहरु सञ्चालनमा रहेका र निर्माणाधिन रहेका छन । खासगरि लघु जलविद्युत आयोजनहरुको समस्या भनेको निरन्तरताको कमि हो । बजेट अभाव र प्राविधिकहरुको पहुँच नहुनाले लघुजलविद्युतहरुको प्रभावकारिता बढ्न नसकेको हो । जलवायु परिवर्तनका कारण खोला नदिहरुमा खनीको वहान न्युन हुँदै जानु त मुख्य समस्या नै छ । पञ्चेश्वर जस्ता ठूला र वहुद्धेशिय आयोजनाहरुमा अझै केहि अस्पष्टताहरु छन जो सिधै राष्ट्रिय हित र स्वार्थसंग जोडिन जान्छन । त्यसकारण थप समय लिन सक्ने संकेत देखिँनुले पनि मझौला तथा लघुजलविद्युत परियोजनहरुमा सरकार र दाताहरु तथा स्थानीयहरुको पनि बढी ध्यान केन्द्रित गर्न सके कम्तिमा सुदूरपश्चिममा छिमेक बाट विद्युत आयात गर्नु पर्ने थिएन । सामुदायिक सम्बृद्धी मार्फत राष्ट्रिय सम्बृद्धी भन्ने नारा पनि सार्थक हुने यस्ता बाटाहरु मध्ये जलविद्युत शिर्षस्थानमा रहन्छ । जलविद्युतले कुनै किसिमको वातावरणिय प्रदुषण या क्षति कम मात्रै गर्छ । बरु जलविद्युत आयोजनाको लागि निर्माण हुने संरचना बाटै सिंचाई कर्म पनि गर्न सजिलो हुन्छ । वैज्ञानिक र वातावरणीय अध्ययन गरेर दुरदर्शि नीति बनाएर जलविद्युत क्षेत्रमा कुरा भन्दा काम बढी गरेर अगाडी बढे सम्बृद्धी टाढा छैन । तर होटेलमा कागज भर्दै भाषण फुक्दै जाने प्रवृति छोडेर काम गर्न थाल्नु पर्छ ।

सौर्यऊर्जा सर्वा्धिक व्यापक र असिमित श्रोत हो । यो वातावरणमा फोटोन (साना साना प्रकासका तरंग पाकेट) को रुपमा विकिरण बाट उर्जाको सञ्चार गर्दछ । सौर्य उर्जा  संभवतः पृथ्वीमा सर्वा्धिक महत्त्वपूर्ण रासायनिक प्रक्रिया प्रकाश(संश्लेषणलाई मान्न सकिन्छ । सूर्यमा भएको कुल ऊर्जा क्षमताको मात्र एक प्रतिशत मात्रै पृथ्वी को पुरै ऊर्जा आवश्यकता पूर्ति गर्न सक्छ । यस युगमा सौर्यउर्जामात्रैले पनि धेरै उर्जासंकट निवारण गर्न सक्छ । तर तुलनात्मक रुपमा महंगो र एकतृत गर्न गाह्रो भएकाले जडान गर्न समस्या महशुस गरिन्छ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा वृहत सौर्यउर्जा प्रणाली जडान गर्न सके संगठित रुपमै ठूलो परिणाममा विद्युत उत्पादन गर्न सकिन्छ । सरकारले घरेलु सोलार प्लान्टमा दिँदै आएको अनुदान बढाउनु आवश्यक छ । यस्तै दुर्गम गाँउवस्ति जहाँ प्रसारण लाईन पुग्न सकेको छैन त्यहाँ समेत सौर्य उर्जा सम्भव रहेकाले उक्त ठाँउहरुका सरकारी कार्यालय एवम् विद्यालयहरुमा सौर्य उर्जा प्लान्ट जडान गर्न थप कामहरु हुनु जरुरी छ । प्लान्टमा प्रयोगहुने ब्याट्रीहरुको व्यवस्थापन गर्न सके अरु कुनै पनि वातावरणीय क्षति नहुने यो पद्धती व्यापक रुपमा ग्रामिण तह पुगाउन सकिन्छ । 

अर्को महत्वपूर्ण र नयाँ प्रविधी बायो ब्रिगेट पनि हुन सक्छ । वनजंगलको संरक्षणमा मदत पुगाउने यो प्रबिधि शुदुपश्चीममा उपयुक्त छ । ब्रिकेटको बारेमा अहिले यस क्षेत्रमा धेरै जसो उपभोक्ताहरु अनविज्ञ छन । वायो ब्रिकेट वनलाई नै नोक्सान पुर्याउने वनमारा, काँडाहरु, झारपात  आदिजस्तो बोटबिरुवाहरुबाट उत्पादन गर्न सकिन्छ ।  सामुदायीक वनले वैकल्पीक उर्जाका रुपमा यस क्षेत्रमा  वायो ब्रिकेट कोइलाको उत्पादन सुरु गर्न सक्छन । प्रसस्त उत्पादन गर्न सके राजमार्ग छेउछाउका र शहरि क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुमा खपत गर्न मिल्नेछ । सामुदायिक वनहरुको यस प्रविधीको विकास गर्न महत्वपुर्ण भूमिका खेल्न सक्छन । वनको विविधता नबिगारने गरि यसरी सामुदायिक वनहरुले र स्थानियहरुले संयुक्त रुपमा व्यवसायिक तरिकाले उत्पादन गर्न सक्छन । धुवाँबाट मुक्त चुलोको गाँउगाँउमा माग बढिरहेका बेला ग्रामिण भेकमा बायो व्रिगेट प्रविधि सहज र उपयुक्त हुने हुनाले यसमा व्यवसायिक लगानी वृद्धी हुनु जरुरी छ । यस्ता प्रविधिहरुबारे सरोकारवाला निकायले समेत जनचेतना अभिवृद्धी गराईराख्नु पर्छ ।

 वातावरणमैत्रि उर्जाहरुमा वायु उर्जाको सुदुरपश्चिमा नै कुनै अध्ययन भएको पाईएको छैन । महंगो र मसिन व्यवस्थापनमा असहज हुने हुनाले यो पद्धती खासै लोकप्रिय र उपयुक्त छैन । यद्यपी सम्भावनाका ढोकाहरु खुल्लै राखि उच्च पहाडी जिल्लाहरुमा थप सम्भाव्यता अध्ययनलाई भने अघि बढाईराख्नु पर्छ । यसरी नै भूतापीय उर्जा पनि महंगो छ र यसकिसिमको प्रविधी नेपालमा विकसित भैसकेको छैन । उर्जा विकाशका लागि पुर्वाधारको पनि पुर्वाधार हो । हाम्रो जस्तो भर्खरैमात्र विकास बारे सोच्न थालेको देशका लागि उर्जा प्रथम आवश्यकता हो । देशमा वातावरणमैत्रि उर्जा खासगरि जलविद्युतको अपार सम्भावनाका बीच विडम्बनापुर्ण अन्धकार झेल्न वाध्य हामी नेपालीहरुका लागि उर्जामा जनसहभागिता र उर्जा सशक्तिकरण नौला विषय हुन सक्छन । जे जस्तो भएपनि सुदुरपश्चिम उर्जा उत्पादनको हव बन्न सक्छ र राष्ट्रिय सम्बृद्धीमा योगदान दिन सक्छ । यसबारे सरकारले बैलैमा कदम चाल्ने की ?
समाप्त