रविवार, 4 दिसंबर 2011

जागीरे को दुधपोखरी यात्रा १

यात्रा संगैका तरङ्गहरु

    
विशाल गौतम

नयाँ नेपालको निर्माणको उपलब्धीपूर्ण दिन राजा ज्ञानेन्द्रलाई सरकारी भवन नारायणहिटी बाट निष्काशन लगायत नेपाललाई संघिय गणतन्त्र भनि घोषणा गर्ने दिन भएकाले पनि जेठ १५ हाम्रा लागी उत्सबको दिन थियो । हामी क्याम्पस संगै पढ्ने ४ जना साथीहरु भएर यसै अबसरको सदुपयोग गरेर संघिय गणतन्त्र नेपालको पहिलो दिन कास्कीको अन्नपूर्ण संरक्षण केन्द्रको सात दिने रुट भनिने सिक्लेस रुट हुँदै दुध पोखरीको पैदल यात्रा गर्ने निर्णय गरी १६ गते बिहान शिशुवा बाट प्रस्थान गर्यौं । यस पैदल यात्रालाई मैले भरपुर उपयोग गर्ने योजना बनाएको थिएँ । गणतान्त्रिक नेपालको बारेमा पाहाडी गाँउका जनताको बिचार बुझ्नु, गाँउको अवश्थाको जानकारी लिनु, ACAP को मनोरम दृष्यको अवलोकन र स्थानिय स्रोतको कसरी उपयोग भै रहेको छ, त्याँहाको आर्थीक र सामाजिक अबश्थाको बिष्लेशणात्मक अवलोकन साथै सुन्दैमा जाँउ जाँउ लाग्ने दुध पोखरीको रमणीयताको भरपुर रसपान गरेर उपयोग गर्ने मेरो योजना थियो । साथीहरुको आन्तरीक योजना पनि सायद यस्तै थियो होला । ३ दिन सम्म सार्बजनिक बिदा भएकाले हामी काम र पढाई बाट फुर्सद पाएकाले मख्ख थियौ । सायद जागिर खाए पछि बिदा बिधार्थी काल भन्दा प्यारो र महत्वपूर्ण भएको थियो मलाई ।
    म मख्ख परेको थिए एउटा शहरबाट (जुन काठमाण्डौको तुलनामा गाँउनै होला तर हाम्रो लागी शहरनै उपयुक्त शब्द होला) कास्कीको मनोरम गाँउ या भनौ अबिकसित ठाँउहरुको यात्रामा जाँदा शहरीया रवाफ देखाउदै जानुमा । दिपाङ्गको मनोरम दृष्य हेर्दै र पहिला भन्दा सानै तर ! दशक पछिको अन्तरमा ठुलो रुपमा दिपाङ्गलाई देख्न पाउदा हर्षित थिए । तर तालको जग्गा मिचेर खेती गरिएको जग्गा पुरै तालको नयाँ स्वरुपमा नअटेको देख्दा दुख पनि लागेको थियो । बिस्तारै आरुपाटा हुँदै र एफ एम को गिती ताल संगै हामी चियाको लागी आरुपाटाको स्कुल नजिकै चियाको चुस्की लिन होटलमा पस्यौँ । स्थानियहरु संग राजाको बर्हिगमन र गणतन्त्र घोषणा एवं माओबादीको नयाँ राज्य संरचनामा ४०-४५ प्रतिशतको हिस्सा ओगट्ने बाहुन क्षेत्रिको छुट्टै राज्य नभएको लगायतका बिषमा चलेका चर्चाहरुमा आ–आफ्नो मत राख्दै हामी अगाडी बड्यौं । कालिका पुगेपछि चकलेट खाँदै त्याहाबाट देखिनेतालहरु र हिमालको मनोरम दृष्य क्यामरामा कैद गर्दै हामी भैंसे सोझियौं । सानो बाटो बाट फराकिलो हुँदै मोटर गुड्ने सम्म भएको रहेछ कहिले मोटरबाटो त कहिले टारी टारी मकैका बारीहरु छिचोल्दै त कहिले बाटो बिर्सेर अन्तै आधा घण्टा सम्म उल्टो बाटो हिड्दै
बाटोमा भेटेका स्थानिय ब्यक्तिलाई सोध्दै भैंसे सम्म आईपुगियो । दिनको त्यस्तै ११-१२  बजेको थियो दिउसोको प्रचण्ड घामले थकान बढेको थियो साथ साथै हामीले बोतलमा ल्याएको पानी सिद्धीएको थियो । त्यही भैंसेको होटलमा बसेर चिसो फ्रीजमा राखेको पेयले तिर्खा बिर्साएको थियो । तर पैसा तिर्दा अझ सितल अनुभव गरे मैले । शहरमा सजिलै उपलब्ध हुने पेयको २० रुपैँया तिर्न बाध्य हुन्थ्यौ मलाई शंका थियो गाँउमा बोकेर ल्याएको पेय अझ त्यस माथी पनि फ्रिजमा राखेका २५ रुपैंया त लिन्छन् होला तर यति बिकटमा आएर पनि हामीले मात्र १६ रुपैंया मा पेय पियौं । खै नाफा कम खाएर दिए कि । यहाँ मैले हामी शिक्षित भनिएका हरुले उपभोक्ता हकहितको कुरा मात्र गर्ने गरेको र बिरोध गर्न नसकेको सम्झे । अधिकतम खुद्रा मुल्य १४ लेखीएको चिसो पेयलाई हामी सामान्य पसलमा पनि २० तिरेर खाँएका छौ । खै त हाम्रो हकको कुरा हामीले गरेको, हामी त ठगिएका रहेछौ । हामी भन्दा त गाँउमा बस्ने भाग्यमानि पो रहेछन् की ? सोचाईको समाप्ती संगै चाउमिन तयार भएको कुरा साथीहरुले गरे र चाउमिन खान थाल्यौ साथ साथै दुध पोखरी जाने बिषयमा हामीले छलफल गर्यौं त्यही होटलकी दिदी संग कुरा गर्दा दिदीले भनिन दुध पोखरी जान त ७ दिन लाग्छ अझ जाडो उस्तै छ, तिमीहरुसंग त बाक्लो कपडा पनि छैन कसरी जान्छौ ? हामीले हाम्रो झोलामा बाक्लो कपडा छ भन्दा तिनी ठट्टा गरेको संझेर हाँसिन र भनिन यिनीहरु सिक्लेस तिर जडिबुटी खोज्न आएका होलान हामीलाई गफ लगाउछन् । तर पनि तिनले हामीलाई दुध पोखरीको बाटोमा हुने सम्भाबित खतरा बाट सर्तक गराईन । दुध पोखरीको बाटोमा भालुको आक्रमण हुन्छ । हातमा लौरी लिएर जानु पर्ने र भालु आएमा नाकमा हिर्काउन सके बच्ने कुरा पनि बताईन । हामी हास्दै भात नखाएको भोकको झोकमा चाउमिन खाँयौ मिठो नभएपनि भोकको झोकमा हामीले चाउमिन सक्यौं । भोक मिठो की भोजन मिठो माहाराज भने जस्तै हामीलाई चाउमिन खान योग्य नै लाग्यो । चाउमिन सकेर हामी आफ्नो बाटो लाग्यौं ।
क्रमशः
जागीरे को दुधपोखरी यात्रा २

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें